Tuesday, November 15, 2011

बुधवारबाट माओवादी लडाकुको वर्गिकरण सुरु

काठमाडौं,  कार्तिक ३० । सरकारले  बुधवारबाट माओवादी लडाकुको वर्गिकरण लगायतको काम गर्ने भएको छ । सेना समायोजन सम्बन्धी बिशेष समितिको बसेको बैठकले बुधवारबाट लडाकुका शिविरमा प्राबिधिक टोली पठाएर समायोजनको काम गर्ने निर्णय गरेको समिति सदस्य भीम रावलले जानकारी दिनुभयो ।


उहाँले कार्तिक ३० गते टोली पठाएर मंसिर सात गते भित्र लडाकुको सम्पूर्ण काम सक्ने बताउनुभयो । त्यसै गरेर बिशेष समितिले बिशेष समितिको सचिवालयले तयार पारेको कार्यतालिकालाई परिमार्जन सहित पारित पनि गरेको छ । यद्यपी कांग्रेस नेता तथा समिति सदस्य राम शरण महतले भने सात गते भित्र लडाकुलाई समायोजन गरिसक्ने निर्णय भएको बताउनुभयो ।

सेना समायोजन विशेष समितिले तयार पारेको कार्ययोजनाअनुसार एकीकृत नेकपा (माओवादी)का लडाकु वर्गीकरण सम्बन्धमा प्राविधिक सर्वेक्षण टोलीका लागि आयोजित प्रशिक्षण सम्पन्न भएको छ । प्राविधिक टोलीलाई सेना समायोजन, पुनःस्थापना र स्वेच्छिक अवकाशका बारेमा लडाकुको सङ्ख्या अनुपातका आधारमा विभाजन गरी शिविर पठाउने तयारी भइरहेको विशेष समिति सचिवालयका प्रवक्ता एवम् मुख्यसचिव माधव घिमिरेले बताउनुभयो ।

प्रवक्ता घिमिरेकाअनुसार शिविरमा खटिएका सर्वेक्षण टोलीले लडाकुको सङ्ख्या अद्यावधिक गर्दै उनीहरु लडाकु हुन् या होइनन् भन्ने प्रमाणित गरेर समूह विभाजनको काम सुरु गर्नेछ । सचिवालयका अनुसार हाल इलामस्थित शिविरमा एक हजार ९३०, सिन्धुलीस्थित शिविरमा एक हजार ६५८, चितवनस्थित शिविरमा तीन हजार ९१९, नवलपरासीस्थित शिविरमा तीन हजार ३९, रोल्पास्थित दुई हजार ४२८, सुर्खेतस्थित शिविरमा तीन हजार ८८, कैलालीस्थित शिविरमा तीन हजार ३१० र काठमाडौँमा विभिन्न सुरक्षार्थ खटिएका १५३ जना लडाकु रहेका छन् ।

समितिले यसअघि नै स्वेच्छिक अवकाशमा जाने लडाकुहरुलाई वर्गीकरण गरी रु पाँच लाख, रु छ लाख, रु सात लाख, रु आठ लाख र रु नौ लाखसम्मको राहत प्याकेज दिने निर्णय गरिसकेको छ ।विशेष समितिको सोमबार बसेको बैठकले लडाकुको समायोजन, पुनःस्थापना र स्वेच्छिक अवकाशसम्बन्धी सचिवालयले तयार गरेको विस्तृत कार्यक्रम र कार्ययोजनालाई सामान्य परिमार्जन गर्दै पारित गरेपछि आगामी मङ्सिर ७ गतेभित्र वर्गीकरणको कार्य सक्ने गरी टोलीले काम गर्नेछ ।

कार्ययोजनाअनुसार लडाकुको शैक्षिक योग्यता र दर्जाका हकमा अनमिनले प्रमाणीकरण गर्दा र हालको गरी दुवै शैक्षिक योग्यता राखिने, शिविरमा रहँदा मृत्यु भएका परिवारलाई ५० प्रतिशत राहत, बच्चा भएका महिला र अपाङ्गता भएका लडाकुका लागि सरकारका अन्य राहतका कार्यक्रमबाट सुविधा दिइने भएको छ ।

0 comments:

Post a Comment