Wednesday, August 1, 2012

वाणिज्य विभाग पुनरावेदन अदालत जाने

काठमाडौं, १७ श्रावण । राजधानीको न्युरोडस्थित ताजा कर्नर गुँदपाक भण्डारविरुद्ध वाणिज्य विभाग पुनरावेदन अदालत जाने भएको छ । जिल्ला अदालत काठमाडौंले गुँदपाक भण्डारका सञ्चालकलाई गरेको कारबाही कम भएको भन्दै विभागले पुनरावेदन जाने निर्णय गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश भोजराज अधिकारीको इजलासले गत जेठ २५ मा गरेको फैसलामा चित्त नबुझाउँदै विभागले पुनरावेदन गर्न लागेको महानिर्देशक नारायणप्रसाद बिडारीले बताए । 'कारबाही कम भएको लाग्यो, त्यसैले पुनरावेदन गर्दैछौं,' उनले भने, 'यसका लागि सरकारी वकिलको राय लिन पठाएका छौं।' जिल्ला अदालतले जेठ २५ मा गुँदपाक भण्डारका सञ्चालक मनेन्द्रलाल मास्केलाई २५ हजार र मदनबाबा मास्केलाई १५ हजार जरिवाना गर्ने फैसला गरेको थियो।

उनीहरुलाई उपभोक्ता संरक्षण ऐन-२०५४ को दफा १०(क) अनुसार यो जरिवाना गरिएको हो। यो दफामा कमसल वस्तु उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यवस्था छ। दुवै सञ्चालकलाई जिल्ला अदालतले गत चैत १३ गते धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको थियो। अदालतले मनेन्द्रलाललाई १ लाख ५० हजार र मदनबाबालाई १ लाख धरौटी दिएर तारेखमा छाडेको थियो। जिल्ला अदालतले फैसलालाई आधार लिएको दफाअनुसार ३ वर्ष कैद वा ५० हजार जरिवाना अथवा दुवै सजायँ गर्ने सकिन्छ ।


No comments:

Post a Comment