Wednesday, August 1, 2012

देशभर जनैपूर्णिमा पर्व मनाउँदै

काठमाडौं, १८ श्रावण ।  आज नेपालभर हिन्दू धर्मावलम्बीहरू ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदैछन् । जनै लगाउनेले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबार, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।

जनैमा प्रयोग भएका ९६ धागा, ९ गुना, ३ डोरा र ५ ग्रन्थीमध्ये ९६ धागाले चार, वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश भएपछि ब्रतवन्ध गरिने भएको हुँदा बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ । ९ गुनाले शरीरमा विद्यमान ९ इन्द्रीय, ६ डोराले शरीरका पन्च ज्ञानेन्द्रीय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानको प्रतीकका रूपमा सरस्वतीको षट्कोणलाई समेत सङ्केत गर्दछ ।

यस अवसरमा आफ्नो सुरक्षाका खातिर नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ–आफना दाजुभाइलाई दिदीबहिनीहरूले आजै राखी बाँध्ने चलन छ । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको रक्षाबन्धन पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ । पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट दपेटिएको देवशक्तिलाई देवराज इन्द्रका गुरु वृहस्पतिद्वारा रक्षा विधान तयार गरी जोगाइएको तथा वामनावतार विष्णुद्वारा दैत्यराज बलीलाई वचनवद्ध गराई तीनै लोक लिएको स्मृतिसँग जोडएको छ । आज बाँधिएको डोरो गाईतिहारको दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनधारणा छ ।

कृषिप्रधान हाम्रो मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा पुनः ऊर्जा ल्याउन नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने गरिन्छ । जनै पूर्णिमाका अवसरमा शिवजीलाई कालकुट विषको डाहाबाट शीतलता प्रदान गर्न आजै उत्पत्ति भएको मानिने रसुवाको गोसाईकुण्ड र सोही कुण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठूलो लागेको छ ।

No comments:

Post a Comment