Wednesday, August 1, 2012

एमाओवादी नेताविरुद्ध उजुरै उजुर

काठमाडौ, श्रावण १८ । एकीकृत माओवादीका नेताहरूको सम्पत्तिबारे उजुरीको ओइरो लागेको छ । गत साता ‘नेताहरूको व्यक्तिगत सम्पत्ति एवं आर्थिक स्थितिको छानबिन आयोगु’ले बिहीबारसम्म उजुरी दिन सार्वजनिक रूपमा आग्रह गरेपछि उजुरीको ओइरो लागेको स्रोतले जनाएको छ ।
कान्तिपुर दैनिकका अनुसार आयोगले हुलाक, इमेल वा केन्द्रीय कार्यालयमै गएर उजुरी दिन सार्वजनिक रूपमा आग्रह गरेपछि सयौं उजुरी परेको स्रोतको भनाइ छ । ‘सयौं उजुरी आएका छन्, हाल संकलन भइरहेको छ, गन्न भ्याइएको छैन,’ स्रोतले भन्यो, ‘उजुरी आउने क्रम जारी छ ।’

आयोगलाई प्राप्त उजुरीमध्ये अधिकांश उजुरी बेनामे छन् । आयोगले उजुरी दिनेको नाम गोप्य राख्ने भने पनि परिचय खुल्ने डरले बेनामे दिएको अनुमान छ । कसको नाममा कति उजुरी परे भन्नेबारे आयोगले विवरण तयार गर्न बाँकी छ ।

साउन पहिलो साता भृकुटीमण्डपमा सम्पन्न सातौं प्लेनममा पार्टीका नेताहरू भ्रष्टाचार र कमिसनमा डुबेको कार्यकर्ताले कुरा उठाएपछि स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा आयोग गठन गरिएको थियो । प्लेनममै अध्यक्ष पुष्पकमल दाहालले सुविधा सम्पन्न लाजिम्पाट निवास र प्राडो गाडी छाड्ने घोषणा गरेका थिए । उनले अबदेखि पार्टीलाई पूरै लेखा प्रणालीमा लगिने बताएका छन् ।

No comments:

Post a Comment